सेतो गुराँस बालविकास सेवा रुपन्देहीको आयोजनामा गुनासो सुनुवाई कार्यविधिबारे छलफल

सेतो गुराँस बालविकास सेवा रुपन्देहीको आयोजनामा गुनासो सुनुवाई कार्यविधिबारे छलफल

विद्यालय हाताभित्र बालबालिकामाथि हुनसक्ने भेदभाव, दुव्र्यहार, शोषण, लैंगिक हिंसा रोक्न संघीय सरकारले बनाएको गुनासो सुनुवाई कार्यविधि कार्यान्वयनको अवस्थाबारे विहिबार बुटवलमा सरोकारवालाहरुसँग छलफल गरिएको छ ।  

सेतो गुराँस बालविकास सेवा रुपन्देहीको आयोजनामा बुटवल उपमहानगरका नगरप्रमुख, वडाअध्यक्ष, बाल कल्याण अधिकारी, विद्यालयका प्रधानाध्यापक, बालबालिका र सरोकारवालाहरुको उपस्थितीमा छलफल गरिएको हो । गुनासो सुनुवाई कार्यविधिको कार्यान्वयन र बालबालिकाहरुको शिक्षा अधिकारको अवसर तथा सुनिश्चिता बिषयक छलफलमा कार्यान्वयनको अवस्था कमजोर रहेको औल्याइएको थियो ।   

कार्यक्रममा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरले बुटवलको शैक्षिक विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । सरकारी र नीजि विद्यालयको उत्कृष्टताका लागि हौसला बढाउनका लागि उपमहानगरले अभिभावकीय भूमिका निर्वाह गर्नुभएका उहाँले बताउनुभयो । नगरप्रमुख पाण्डेयले श्रम गर्ने बानी हराउँदै गएको बताउँदै गरिखाने वर्गलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले बुटवल उपमहानगरले आवश्यक नीति नियमहरुलाई कार्यान्वयन गर्दै जाने समेत बताउनुभयो ।
कार्यक्रममा बुटवल वडा न। ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले गुनासो सुन्ने कार्यविधि कार्यान्वयनको पाटो आफ्नोमा महत्वपूर्ण रहेपनि बालबालिकाहरुलाई गुनासो आउन नदिने गरी पढाउने वातावरण विद्यालयहरुले गर्नुपर्नेमा जोड दिनुभयो । उहाँलेले विद्यालयहरुले वात्सल्यप्रेमका साथ बालबालिकाहरुलाई पढाउँदा गुनासो पेटिका राख्न नपर्ने अवस्था आउने बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख हरिबहादुर विष्टले कार्यपत्र प्रस्तुत गर्दै सामुदायिक र संस्थगत विद्यालयहरुले कार्यविधि कार्यान्वयन निकै कममात्रामा गरेकाले यसबारे स्थानीय सरकारको भूमिका बढाउन र सरोकारवालाहरुलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।
छलफल कार्यक्रममा बुटवल उपमहानगरपालिका निर्देशक एंव बालकल्याण अधिकारी दामोदर ज्ञवाली, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक सुमित्रा शर्मा, लक्ष्मी मावि बुटवलका प्रधानाध्यापक शान्ति शर्मा, बुटवल वडा न। १० बाल क्लब अध्यक्ष उप्सना थापा, सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका कार्यवाहक अध्यक्ष गोमती सुनार, पत्रकार कल्पना तिवारी लगायतले बोल्दै विद्यालयहरुले गुनासो सुनुवाई कार्यविधि कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

गुनासो सुनुवाई कार्यविधि २०७४ अनुसार प्रत्येक विद्यालयहरुले गुनासो पेटिका राख्नुपर्ने नियम छ । बालबालिकाहरुले शिक्षक वा विद्यालय व्यवस्थापन समितिलाई भन्न नसकेका गुनासो वा समस्या लिखित रुपमा राख्नका लागि यो व्यवस्था गरिएको हो । तर, बुटवलका केही मात्रै विद्यालयहरुले यो कार्यविधि कार्यान्वयन गरेका छन ।

रेडियो मुक्ति बाट सन्दर्भ

२०८० फाल्गुण २४, रुपन्देही बुटवल

Leave a Reply

Your email address will not be published.